काभ्रेको तीनधारे झरना


तीनधारे झरना

तीनधारे झरना काठमाडौं उपत्यकादेखि करीब ६० किलोमिटरको छोटो दूरीमा रहेको रमणीय झरना हो। आजभोलि यो झरनाले सामाजिक सञ्जालहरूमा चर्चित हुँदै गएको छ। काभ्रे जिल्लाको रोशी गाउँपालिका–२ काफल डाँडामा अवस्थित छ तीनधारे झरना।

काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलदेखि काभ्रेभञ्ज्याङ, दाप्चा हुँदै काफलडाँडा पुगिन्छ। काफल डाँडाबाट करिब १ घण्टाको हिँडाइपछि झरना भएको स्थान पुग्न सकिछ। करिब ३०० मिटर माथिबाट झर्ने झरनाको दृश्यले तपाईंलाई मोहित बनाउँछ।            

काठमाडौं उपत्यका आसपासका स्थानहरुमा रहेका झरनाबाट केही फरक र साहसिक यात्रा अनुभव गर्न चाहनुहुन्छ भने तीनधारे झरना उपयुक्त गन्तव्य हुनसक्छ।   

अर्काको छोरो

-कृष्ण अधिकारी- (मधुपर्क, २०६६ जेठमा प्रकाशित)

अरू कुमारी केटीहरू सपनामा आफ्नो राजकुमार खोज्छन् रे तर मैले त्यस्तो सपना कहिल्यै देखिनँ। जस्तो पर्छ त्यस्तै टर्छ भन्ने लाग्थ्यो। एउटा जिन्दगी हो भोगौँला भन्ने हिम्मत थियो तर अरूले सपनामा खोज्ने राजकुमार मैले विपनामा नै पाएँ। रोहणले मलाई दिएको माया म यहाँ वर्णन गर्न सक्तिन।

बेलैमा छोराछोरी हुर्काउने हो भने त्यसपछिको जवानी सुन्दर हुन्छ रे, हामी पनि त्यतापट्टी सोच्ने हो कि? एक दिन रोहणले प्रस्ताव ल्याए। मैले स्वीकार गरेँ। हाम्रो त्यो सहमतिमा जन्मेको छोरो आज राम्रो स्कुलमा बोडर्स छ। गत असारदेखि दस वर्ष लागेको छ। त्यसपछि दोस्रो सन्तानका लागि हामीले सोच्दै सोचेनौँ।

एक दिन रोहण अन्यमनस्क हुँदै अफिसबाट आए र थचक्क सोफामा बसे। मैले आजसम्म उनलाई यस्तो थकित र गलित कहिल्यै देखेको थिइन। छेउमा गएँ निधार छामे, सुमसुम्याएर सोधेँ - के भयो मेरो राजा आज तिमीलाई? उनले मेरो कम्मरमा हात बेरेर कुममा चिउँडो टेकाउँदै भने हेर न मलाई जस्तो अवसर अरू कसैलाई आए थाप्लो ठोकी ठोकी हामफाल्दै जाने थिए। मेरो अफिसलाई अमेरिका जाने एउटा कोटा आएको छ। मेरो बाहेक अरूको योग्यता पुग्दैन। पढ्न पनि पाइन्छ, तलब पनि डलरको भाउमा। हाकिमले जाऊ भन्छ तर तिमीलाई छोडेर मलाई जान पटक्कै मन छैन।

म छाँगाबाट खसे जत्तिकै भए। रोहण नभएको दिन मैले सपनामा पनि देखेकी छैन। ऊ नभएको रातको कल्पना पनि गरेको छैन। म चिच्याउँदै भन्न चाहन्थेँ, तिमी मलाई एक्लै छोडेर जाने कुरै नगर। फेरि विचार गरें “भाग्यले दिने कर्मले ठेल्ने” भन्छन्। मैले त्यसरी अड्डी लिँदा हाम्रो ठूलै अवसर पो गुम्ने हो कि? म गहभरि आँसु जमाएर चुप लागे। रोहणको मुखबाट पनि एक वाक्य फुटेन। हामी च्याप्प अँगालोमा कसिएर सुत्यौँ र अनिदै आँखा लिएर बिहान उठ्यौँ।

एक कान दुई कान मैदान भयो रोहणलाई अमेरिका जाने अवसर आएको कुरा। रोहण जान मन गर्दैन रे भन्ने हल्ला पनि खडेरीको भष्मे सल्किए जस्तो सल्किसकेछ। आफन्तहरू, नाता गोताहरू घरमा भेला भएर सम्झाउन थाले बाबै समय आउँछ पर्खिंदै। अब त छोरो पनि स्कुल जाने भैसक्यो। लाजवन्ती छोरो पढाउँछिन् घर थामेर बस्छिन्, केही वर्षको कुरा हो। त्यसपछि तिमीहरूलाई सुखै सुख। रोहणको बारेमा गाउँभरि टीका टिप्पणी सुरु भए, स्वास्नी छोड्न नसक्ने लाछी। कसै कसैले त सुँगुरलाई स्वर्ग जान्छस् भनेजस्तै हो रोहणलाई अमेरिका जा भन्नुसम्म भने। उता अफिसमा, हाम्रो कार्यालयको प्रतिष्ठाको कुरा हो तिमीले नाइँ भन्न मिल्दैन भनेर हाकिमले दबाब दिइरहेका थिए। यी चौतर्फी राप र तापबाट म पनि गलिसकेकी थिएँ। अमेरिका जाऊ रोहण म तिमी फिर्ने बाटो कुरेर यो घर रूँगिरहन्छु। मैले यो भन्दा बढी बोल्न सकिन र घोप्टो परेर रुन थालेँ। रोहणले पनि मेरो पिठ्यूामा आँसु खसाउँदै रात बिताए। हाम्रो बिछोड निश्चित भयो।

शे-फोक्सुन्डो

- सुदिप पाण्डे  (२०७६ कार्तिक १६ गते १३:४३ मा प्रकाशित) Online Khabar

पानीको रंग कस्तो हुन्छ ? शे-फोक्सुन्डोको डिलमा उभिएपछि तपाईंले भन्नुहुनेछ, निख्खर नीलो । गाढा नीलो । यस्तो लाग्छ, मानौं कञ्चन आकाशको एउटा अंश धर्तीमा बिच्छ्याएको हो ।

पत्रे चट्टानले घेरिएको विशाल जलाशय देखेपछि एकछिन त तपाईं भाव शून्य हुनुहुनेछ । बारम्बार चलिरहने हावाको झोंकासँग लहरिने पानीको छालले तपाईंलाई रोमाञ्चक तुल्याउनेछ । र, यी दृश्यहरुमा एकाकार हराईरहँदा तपाईंले आफैँलाई भुल्नुहुनेछ ।

न घर सम्झनुहुनेछ, न भाइबन्धु । न धन सम्पति, न ऋणभार । न सुख-सयल, न दुःख कष्ट । सबैकुरा भुल्नुहुनेछ । अनि यो मोहक जलकुण्डको सौन्दर्यमा एकोहोरिनुहुनेछ ।

दुई वर्षदेखि मलाई लोभ्याइरहेको थियो, फोक्सुन्डोले । जान्छु, जान्छु भनेर पनि मेलोमेसो मिलिरहेको थिएन । यसपाली दशैंको फुर्सदमा साइत जुर्‍यो । टीकाको भोलिपल्ट मैले आफूलाई यात्राका लागि सम्पूर्ण रुपमा तयारी गरिसकेको थिएँ ।

अक्सर म एक्लो यात्रा रुचाउँछु । भनिन्छ नि, रमाइलो गन्तव्यमा होइन यात्रामा हुन्छ । म पनि आफ्नो यात्रालाई सकेसम्म रोमाञ्चक र स्मरणीय बनाउने यत्न गर्छु । एक्लो यात्रा गर्नुको अर्थ पनि त्यही हो ।

धेरै जना वा समूहमा यात्रा गर्नु सहज हुन्छ । आपत-बिपतमा सहयोग हुन्छ । कतिपय जोखिमबाट बच्न सकिन्छ । त्यसैले एक्लो यात्रा आफैँमा जोखिमयुक्त चाहिँ हुन्छ । तर, मलाई यात्रामा त्यही जोखिमसँग खेल्न रुचि लाग्छ ।

यात्रा भनेको पूर्वतयारी वा पूर्वनिर्धारितभन्दा पनि अप्रत्यासित राम्रो हो भन्ने लाग्छ । त्यसरी यात्रा गर्दा मात्र नयाँ स्थानको यात्रामा असली मज्जा लिन पाइन्छ । टीकाको भोलिपल्ट चाउचाउ, बिस्कुट, ड्राइप|mुट्स, केही औषधि, लुगाफाटो जोहो गरेर म यात्रामा निस्किएँ । यो यात्रा शे-फोक्सुन्डोको लागि थियो ।

मेरो घर, दाङको लमही । त्यहाँबाट बाँकेको कोहलपुर पुगियो । कोहलपुरबाट बस यात्रा सुरु भयो । बस यात्राका क्रममा केही साथी भेटिए, फोक्सुन्डो हिँडेका । उनीहरुसँगै सल्यान, जाजरकोट हुँदै रुकुमको रारी बजारसम्म पुग्यौं । रारीबाट हाम्रो जीप यात्रा सुरु भयो । यतिबेलासम्म मेरो यात्रामा अरु आठ-दश जना सहयात्री थपिइसकेका थिए ।

बाटोमा भेटिने ती सहयात्रीहरुसँग गोलबद्ध भएपछि के सजिलो भयो भने तुरुन्तै गाडी भरिने र कुदिहाल्ने । नभए यात्रु पर्खेर बस्नुपर्ने अवस्था आउनसक्थ्यो । तर, हाम्रो एउटा जत्था नै तयार भएकाले गाडी भरिन्थ्यो । हुईँकिहाल्थ्यो ।

यसरी यात्रा गर्दा एउटै गाडीमा भने भर पर्न सकिँदैनथ्यो । अप्ठ्यारो बाटो, ठूला नदी भएकाले एक ठाउँबाट अर्को ठाउँमा पुग्न गाडी परिवर्तन गरिरहनुपर्ने । डोल्पाको सुलिगढसम्म पुग्दा हामीले ६ वटा गाडी बदल्नु परेको थियो ।

सदारमुकाम दुनैभन्दा डेढ किलोमिटर वर छ, सुलिगढ । अब हामीले त्यही ठाउँबाट पैदल यात्राका लागि तयार हुनुपथ्र्यों । शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज पनि त्यहीँबाट सुरु हुने ।

पैदल यात्राको आफ्नै रमाइलो छ । बाटोमा एकपछि अर्को गर्दै भेटिएका सहयात्रीसँगै मैले पैदल यात्रा सुुरु गरेँ । त्यस दिन हामीले कागेनीमा गएर खाना खायौं । बेलुकीको बास फापरबारीमा भयो । भोलिपल्ट बिहानै उठेर रेची हुँदै तपिजामा पुगियो । तपिजामा खाना खाइयो । त्यहाँ एउटा जापान सरकारको सहयोगमा बनेको आकर्षक विद्यालय पनि रहेछ ।

तपिजाबाट हाम्रो पैदल यात्रा अरु कठिन र संघर्षशील रह्यो । त्यहाँबाट कहिले ठाडो उकालो त कहिले भिरालो बाटो छिचोल्नुपर्ने । एरिक भ्यालीको फिल्म ‘क्यारभान’ छायांकन भएको बाटो हो सायद । ‘क्यारभान’मा आङ जिरिङ्ग हुने भिरालो बाटो, फेदमा गडगडाएर बगिरहेको हिमाली खोला हेरिएको थियो । त्यही बाटो हुँदै हिँड्नुपर्दा मनमा कता कता डर पलाइरह्यो । हिँड्दा हिँड्दै थोरै तलमाथि भइयो भने ज्यानको टुंगो नहुने । एकातिर त्रासदी, अर्कोतिर रोमाञ्चकता । त्यो पैदल यात्रा बिर्सिनसक्नुको थियो ।

निरन्तर चार/पाँच घण्टा उकाली-ओराली गरेपछि पाँच बजेतिर हामी यस्तो भू-स्वर्गको सामुन्ने उभिन पुगेका थियौं । जसको बयान गर्दा मेरो हृदय रोमाञ्चकताले टिलपिल हुन्छ ।

हाम्रो आँखा अगाडि थियो, कान्जिरोवा हिमालको काखमा थपक्क बसेको विशाल फोक्सुन्डो ताल । दुई वर्षदेखि मेरो नाङ्गो आँखाले हेर्न खोजिरहेको दृश्य साक्षात्कार गर्दै थिएँ । त्यो मोहक जलाशय नियालिरहँदा अघिसम्मका दुःख, कष्ट कहाँ गायव भयो ?

यो ताल समुन्द्री सतहदेखि ३९ सय मिटरको उचाईमा छ । नेपालकै सबैभन्दा गहिरो र ठूलो ताल पनि यही हो । यसको लम्बाई ४ दशमलव ८ किलोमिटर र चौडाई १ दशमलव ६ किलोमिटर रहेछ । गहिराई चाहि ६ सय ५० मिटर ।

फोक्सुन्डो तालबाट एउटा झरना पनि बग्छ । सुलिगाँड झरना । तालको आसपासमा २० वटा बौद्ध स्तुफ छ । यहाँ गुम्बा पनि छ । तिब्बेतियनहरुको बसोबास रहेको छ ।

शे-फोक्सुन्डोमा त्यसबेला पनि आगन्तुकहरुको चहलपहल थियो । कतिपय नेपालीहरु दशैंको मेसोमा त्यहाँ पुगेका रहेछन्, म जस्तै । विदेशी पर्यटक भने सोही पैदल मार्ग हुँदै अगाडि बढ्दै थिए ।

हामी अर्को दिन पनि फोक्सुन्डोसँग रमाइरह्यौं । त्यहाँको चिसो सिरोटोसँग खेलिरह्यौं । खुला आकाश, त्रिभुज आकारका पहाडहरु । माझमा विशाल जलाशय । यति सुन्दर ठाउँले यसै पनि मोहनी लगाइरने । तर, यात्री हो, सधै त्यही बसिरहन नसकिने । अन्ततः तेस्रो दिन फोक्सुन्डोलाई बाइबाइ गरियो ।

शे-फोक्सुन्डो पुगेपछि लाग्यो, हाम्रो मुलुकमा कति लोभलाग्दा स्थानहरु छन् । यी स्थानहरु हामीले देख्न पाएका छैनौं । स्पर्श गर्न पाएका छैनौं ।

मलाई लाग्छ, हामीले वर्षमा एक पटक भएपनि आफ्नै मुलुकको फन्को लगाउनुपर्छ । आफ्नो मुलुकको कुनाकन्दरा चाहार्नुपर्छ । घुम्ने संस्कृतिको विकास गर्नुपर्छ ।